६ महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका १८८ देशमा फैलिसकेको छ।
विश्वका एक करोडभन्दा धेरै मानिस कोभिड– १९ को चपेटामा छन् भने यसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघिसकेकोे छ। अहिलेसम्म यो रोगको रोकथामका लागि कुनै भ्याक्सिन बनेको छैन।
अहिले कोभिड– १९ विरुद्धको भ्याक्सिन निर्माणका लागि १२० वटा मेडिकल टिम विश्वका बेग्लाबेग्लै ठाउँमा काम गरिरहेका छन्।
विश्वका विभिन्न देशमा भ्याक्सिन बनाएर मानवमा परीक्षणको तयारीसम्म भए पनि उल्लेखनीय सफलता भने हात लागेको छैन। किनभने भ्याक्सिनको क्लिनिकल ट्रायल (मानवमा परीक्षण) को प्रक्रियामात्रै पनि निकै जटिल र लामो हुन्छ।
अहिलेसम्मको प्रगति अनुसार वैज्ञानिकहरु भ्याक्सिन छिटो बन्यो भने पनि सन् २०२० को अन्त्यसम्म बन्ने बताउँछन्।
यद्यपि, विश्व स्वास्थ्य संगठनका प्रमुखले भ्याक्सिन बन्छ नै भने कुनै ग्यारेन्टी नभएको दोहोर्याइसकेका छन्।
अहिलेसम्मको प्रगति कस्तो छ?
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमण ३१ डिसेम्बर २०१९ मा भएको थियो । अहिले विश्व स्वास्थ्य संगठन सहित कैयौं देशहरु भ्याक्सिन निर्माणमा जुटेका छन्।
बीबीसीका अनुसार विश्वभर १२० वटा संस्था वा विशेषज्ञका टोलीबाट कोरोनाको भ्याक्सिन बनाउने प्रयास जारी छ। बेलायतमा कोरोना भ्याक्सिनको मानवमा परीक्षण सुरु भइसकेको छ। लन्डनको इम्पिरियल कलेजले भ्याक्सिनको परीक्षण सुरु गरेको हो।
चीन र अमेरिकाले पनि भ्याक्सिनको परीक्षण सुरु भएको जनाएका छन् भने भारतले जुलाई महिनाभित्रै भ्याक्सिनको मानिसमा परीक्षण सुरु गर्ने भएको छ।
बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले ८०० मानिसमा भ्याक्सिनको परीक्षण सुरु गरेको छ। विश्वविद्यालयले एक औषधि कम्पनीसँग भ्याक्सिनको १० करोड मात्रा तयार पार्न करार गरिसकेको छ।
जापानमा पनि ओसाका सिटी यूनिभर्सिटी अस्पतालले मानिसमा परीक्षण सुरु गरेको छ।
तर, यी परीक्षणहरु सफल होलान वा नहोलान कसैलाई थाहा छैन।
परीक्षणमै किन लामो समय?
कुनै पनि रोगविरुद्धको भ्याक्सिन बनाउनमा वर्षौ लाग्न सक्छ। कतिपय अवस्थामा दशकौं लाग्छ भने कतिपय भाइरसबाट उत्पन्न रोगको भ्याक्सिन अझै बन्न सकेको छैन।
तर, कोभिड– १९ विरुद्धको भ्याक्सिन बनाउनका लागि विश्वभर भइरहेका प्रयास हेर्दा अनुसन्धानकर्ताहरु यसको भ्याक्सिन चाँडै बन्ने दाबी गर्छन्।
धेरैजसो विशेषज्ञहरु सन् २०२१ को मध्यसम्ममा कोभिड– १९ को भ्याक्सिन बनिसक्ने बताउँछन्। अर्थात कोभिड– १९ पत्ता लागेको समयदेखि १८ महिनामा भ्याक्सिन बनिसक्ने छ। यदि त्यसो हुन सक्यो यो निकै ठूलो वैज्ञानिक उपलब्धि हुनेछ। तर, भ्याक्सिन पूर्ण रुपमा सफल हुने अनुमान अहिल्यै गर्न सकिंदैन।
अब के गर्न बाँकी छ?
भ्याक्सिन बनिसक्यो भने त्यो मानिसको शरीरका लागि कति सुरक्षित भन्ने अनुसन्धान गर्नुपर्छ। भ्याक्सिनले मानव शरीरमा अन्य धेरै समस्या ल्यायो भने त्यसको कुनै फाइदा हुनेछैन।
यस्तो परीक्षण विभिन्न उमेर समूह, क्षेत्र, रोग र शारीरिक अवस्थालाई ध्यानमा दिएर फरक फरक समूहमा व्यापकमात्रामा गरिन्छ। जसका लागि महिनौंको समय लाग्छ। कतिपय अवस्थामा वर्षौं पनि।
क्लिनिकल ट्रायलमा भ्याक्सिनले मानव शरीरमा सुरक्षित तरिकाले कोभिड– १९ प्रतिरोधी क्षमता विकास गरे नगरेको हेरिनेछ।
भ्याक्सिनको परीक्षण सफल भयो भने यसको अर्बौं मात्रा उत्पादन गर्नुपर्छ र विश्वभरका अर्बौं मानिसमा भ्याक्सिन पुर्याउने व्यवस्था मिलाउनु पर्छ।
भ्यक्सिनको परीक्षणमा तीव्रता ल्याउने एउटा उपाय छ, त्यो हो पहिले मानिसलाई भ्याक्सिन दिने र त्यसपछि सुईबाट उसको शरीरमा कोभिड– १९ भाइरस पुर्याउने। तर, यो तरिका निकै खतरनाक हुनेछ किनभने अहिलेसम्म कोभिड– १९ को कुनै औषधि बनिसकेको छैन। त्यसैले अहिले भ्याक्सिनको परीक्षण गर्दा कोभिड– १९ प्रतिरोधी क्षमता मानव शरीरमा विकसित भए नभएको जाँच गर्नु मात्रै उपाय हुनेछ।
भ्याक्सिन नबन्दासम्म...
भ्याक्सिनले व्यक्तिलाई रोगबाट बचाउँछ तर, भ्याक्सिन नबन्दासम्म कोभिड– १९ बाट बच्ने उपाय भनेको सरसफाइमा ध्यान दिने शारीरिक दूरीको पालना गर्ने नै हो ।
साबुन पानीले नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने, अर्को व्यक्तिसँग कम्तीमा दुई मिटरको दुरी राख्ने, मास्क लगाउने जस्ता उपाय निरन्तर पालना गर्नु जरुरी छ।
यदि कोरोना भाइरसको संक्रमण भइहाल्यो भने पनि ८० प्रतिशतमा यो संक्रमणको असर सामान्य मात्रै हुन्छ।
