सरकारले भोलि (बिहीबार)देखि रोटा भाइरसविरुद्धको खोप ‘रोटा रिक्स’को सुरुवात गर्ने भएको छ ।
सरकारले रोटा भाइरसविरुद्धको खोप सन् २०१६ देखि नै सुरु गर्ने घोषणा गरे पनि खोपको उपलब्धता सहज नहुँदा खोपको शुरुवात झण्डै ४ वर्षपछि हुन गएको छ ।
बालबालिकाका लागि यस खोप सञ्चालन गरेसँगै राष्ट्रिय खोप कार्यक्रममा समावेश निःशुल्क खोपको संख्या १२ पुग्नेछ ।
बालबालिकालाई झाडापखाला गराउने रोटा भाइरस बालबालिकाको मृत्युको कारकमध्ये एक भएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन (गाभी) को सहयोगमा युनिसेफले पठाएको ३ लाख २४ हजार भाइल रोटा भाइरसविरुद्धको खोप ‘रोटारिक्स’ असारको पहिलो साता काठमाडौँ आइपुगेको थियो । खोप आएलगत्तै महाशाखाले सातवटै प्रदेश मार्फत जिल्ला तथा स्थानीय तहमा पुर्याएको थियो ।
यो खोप बालबालिकालाई जन्मेको ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइन्छ । खोप बच्चाहरुमा मुखबाट दिइने र एक पटकमा १.५ एमएल दिइने डा. गौतम बताउँछन् ।
रोटा भाइरसले पानी जस्तो पातलो पखाला लगाउने र बच्चाहरुलाई जलवियोजन गराई तत्काल ज्यान जाने अवस्था आउने हुनाले यस खोपको प्रयोग गर्न लागिएको हो ।