काठमाडौं- मन्त्रीसमेत रहेका नेकपाका दुई स्थायी समिति सदस्यले पार्टी गम्भीर संकटकमा फसेको बताएका छन् ।
पार्टी भित्र चलेको सत्ता संघर्षलाई लिएर उनीहरुले नेतृत्वले यहि शैली जारी राखे पार्टीमा अनिष्टको सम्भावना बढेको टिप्पणी गरेका छन् ।
मध्यरातमा ट्विट गर्दै कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले संवाद तिब्र बनाउन र विवेकले निर्णय लिन नेतृत्वसँग अपिल गरेका छन् ।
मंगलबार राति १ बजे नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ।’
उनको ट्विट नेकापको स्थायी समिति बैठकमा नेताहरुबीच भएको चर्काचकी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई राजीनामा दिन नेताहरुले दिएको दबाबतर्फ लक्षित छ ।
मंगलबार बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका थुप्रै नेताहरुले ओलीलाई राजीनामा गर्न दबाब दिएका थिए । राजीनामा माग गरेपछि ओली रुष्ट देखिएका छन्। जसका कारण नेपालभित्रको विवाद थप चर्किएको छ ।
स्थायी कमिटी बैठक चल्दै गर्दा मंगलबार ओलीले दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् भने आज (बुधबार) बिहान मन्त्रिपपरिषद् बैठक बोलाएका छन्।
यसै घटनालाईलाई लक्षित गर्दै अर्का युवा नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पनि राति नै ट्विटरमा लेखेका छन्– ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’
दुई नेताको ट्विटले नेकपा गम्भीर संकटमा फसेको संकेत गरेको छ । पार्टीनै फुटको संघारमा पुगेको हो की भनेर विश्लेषण समेत हुन थालेको छ ।
