मंगलबार, भदौ ९, २०८३

लकडाउनमा ल्यापटपको माग र मूल्य दुवै बढ्यो

व्यवसायी तथा उपभोक्ताहरुका अनुसार एउटा ल्यापटपको मूल्य ८ देखि १० हजार रुपैयाँसम्म बढेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

लकडाउनका कारण माग बढेपछि बजारमा ल्यापटपको मूल्य बढेको छ। व्यवसायी तथा उपभोक्ताहरुका अनुसार एउटा ल्यापटपको मूल्य ८ देखि १० हजार रुपैयाँसम्म बढेको छ।

विक्रेताहरुका अनुसार डेल, एसर, आसुस, लेनोभो, एप्पल, एचपी लगायतका नेपालमा बिक्री हुने सबैजसो ब्रान्डका ल्यापटपको मूल्य बढेको छ।

लकडाउनका कारण माग र आपूर्तिबीच सन्तुलन नमिल्दा मूल्य बढेको हो। ल्यापटप विक्रेता रिना आचार्यका अनुसार लकडाउनले ल्यापटपको व्यापारमा खासै असर परेको छैन। तर, लकडाउनका कारण आयातमा कठिनाइ भने भएको छ। माग बढेको तर आपूर्ति नियमित हुन नसक्दा मूल्य बढेको व्यवसायीको तर्क छ।

लकडाउनका कारण अफिसको काम घरमै गर्नेको संख्या बढेको छ। यसबाहेक अनलाइन कक्षा, अनलाइन मार्केटिङ लगायतका अनलाइनको काम बढ्न थालेपछि ल्यापटपको माग बढेको छ। तर अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा विमान चार्टर्ड गरेर सामान ल्याउनुपर्दा बढी रकम लाग्ने हुँदा मूल्य बढेको विक्रेताहरुको भनाइ छ।

न्युरोडस्थित ओसिमा इन्टरप्राइजेज प्रालिका सञ्चालक गणेश बगालेले भने, ‘लकडाउन अवधिभर मैले ल्यापटपको राम्रो व्यापार गरेँ। वर्क फ्रम होम कल्चरका कारण ल्यापटपको माग बढेको छ। तर, आयात गर्नचाहिँ अलि समस्या छ।’

कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज कुँवरका अनुसार डलरको मूल्यवृद्धि, नेपालको मुख्य आयातस्थल चीनमा उत्पादनमा कमी आउनु र नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण बजारमा ल्यापटपको मूल्य बढेको हो।

प्रकाशित: Jul 01, 2020| 07:35 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्