काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता संशोधन फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयमा उल्लेख छ, 'वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत छ।'
यस्तो संशोधनको कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सृजना हुन सक्ने प्रबल सम्भावना रहेको ठहर कांग्रेसले गरेको छ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सरकारले प्रस्तुत गरेको संविधानविपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ', बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले यसै अनुसार संसदमा प्रस्तुत हुन कांग्रेस संघीय संसदीय दललाई निर्देश गरेको छ।
पार्टीकाे चाैधाैं महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति, सरकारका गतिविधिलगायतका विषयमा छलफल गर्न बसेकाे केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
