विराटनगर– प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण संक्रमण समुदाय स्तरमा फैलन नपाएको जनाएको छ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले संक्रमण क्वारेन्टाइनमा मात्र सीमित रहेको बताका हुन्।
उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाइ हुने बताए।
पछिल्लो समय भीडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएकाले जोखिम भने उच्च रहेको उनको भनाइ छ।
मन्त्री घिमिरेले प्रदेशका सबै जिल्लामा कोरोना भाइरस संक्रमण नभएको बताए।
उनले भने, ‘संक्रमित १४ जिल्लाका भए पनि संक्रमण १४ जिल्लामा छैन।’ कोरोना संक्रमित उपचारपछि घर फर्कनेको अनुपात राम्रो भएको उनले बताए।
भारतले कोरोना नियन्त्रण गरेको घोषणा नगर्दा सम्म प्रदेश १ को चुनौती कायमै रहने पनि उनले बताए।
सामाजिक विकास मन्त्रालयले बुधबारदेखि नियमित मिडिया ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार हरेक दिन दिउँसो २ वजे मिडिया ब्रिफिङ गरिने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।
