मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले दर्ताबारे दाहालको प्रश्नमा ओलीको गोलमटोल जवाफ

एमाले दर्ताबारे दाहालको प्रश्नमा ओलीको गोलमटोल जवाफ

‘आयोगमा दल दर्ता हुनु के नयाँ कुरा भयो र? गोपाल किराँतीले पनि नेकपा केन्द्र नामक दल दर्ता गरेकै छन् क्यार।’
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन दिएको सम्बन्धमा गोलमटोल जबाफ दिएका छन्।

सत्तारुढ नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा दल दर्ताका निवेदन दिएको विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहालले जवाफ माग गरेपछि अध्यक्ष ओलीले 'गोपाल किराँतीले पनि नेकपा केन्द्र नामक दर्ता गरेका छन् नि' भनेर पन्छिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले नेपाल समयलाई जानकारी दिए।

ओलीलाई उधृत गर्दै ती नेताले भने, ‘आयोगमा दल दर्ता हुनु के नयाँ कुरा भयो र ? गोपाल किराँतीले पनि नेकपा केन्द्र नामक दल दर्ता गरेकै छन् क्यार।’

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग

बैठकमा बोल्ने शीर्ष नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा अयोग्य भएको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न ओलीसँग माग गरेका छन्।

नेताहरूले पार्टीमा सबैलाई मिलाएर लैजान नसकेको, सरकार सञ्चालन गर्न नसकेको र भारतसँग वार्ता अघि बढाउन असमर्थ रहेको भन्दै ओलीको राजीनामा मागेका हुन्।

सरकार निरन्तर विवादमा पर्दै गएको, जनताका पक्षमा काम गर्न नसकेका कारण पार्टीको साख गिर्दै गएकाले ओली दुवै पदमा बसिरहन नहुने उनीहरूको भनाइ थियो।

बैठकमा अध्यक्ष दाहालको भनाइ उधृत गर्दै एक नेताले भने, 'पार्टी र सरकार दुवै चलाउन असमर्थ हुनेले मार्गप्रशस्त गर्नुको विकल्प छैन।’ उनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिबारे पनि स्पष्टीकरण मागेका थिए।

दाहालले भनेका थिए, ‘तपाईंलाई सरकारबाट हटाउन दूतावास वा अरु कोही लागेका छैनन्। हामी नै तपाईंको राजीनामा माग्छौं।’

आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन दूतावास र होटलमा छलफल भइरहेको बताएका थिए।

बैठकमा दाहालले ‘भारतले सरकार ढाल्न खोजेको तथ्य र प्रमाण कहाँ छ, कुन आधारमा तपाईंले त्यसो भन्नुभयो ?’ भनेर ओलीलाई सोधेका थिए।

दाहालले भनेका थिए, ‘तपाईंले स्पष्ट पार्नुपर्यो। प्रधानमन्त्रीको हैसियतले त्यस्तो बोल्न मिल्छ ?’

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकार दुवैको नेतृत्वमा रहेर अहंकार देखाउनु भन्दा छिट्टै मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए।

उनले पनि पार्टी र सरकार दुवै चलाउन ओली असमर्थ रहेको बताएका थिए। यस्तै वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै आपत्ति जनाएका थिए।

यस्तै स्थायी कमिटी सदस्यहरु भीम रावल, गोकर्ण विष्ट लगायतले पार्टीलाई जोगाउन ओलीले अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने माग गरेका थिए।

प्रकाशित: Jun 30, 2020| 19:03 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।