मंगलबार, जेठ ५, २०८३

एसईईको नतिजा साउन १५ भित्र प्रकाशन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

National life

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै विगतमा जस्तै गरी नतिजा प्रकाशन गरिने जानकारी दिएका हुन्। एसईईको नतिजा ग्रेडका आधारमा प्रकाशित हुँदै आएको छ।

बोर्डले असार २० गतेभित्र विद्यार्थीले प्राप्त गरेको प्राप्तांक शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउन विद्यालयलाई निर्देशन दिएको छ।
सोहीअनुसार यतिबेला विद्यालयहरू धमाधम प्राप्तांकको तयारी गरिरहेका छन्।

समन्वय एकाइले सम्बन्धित जिल्लाका सबै विद्यालयका विद्यार्थीको प्राप्तांक संकलन गरी बोर्डलाई उपलब्ध गराउनेछ। एकाइले भने अनलाइनबाट नतिजा पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण गत चैत ६ गतेदेखि तोकिएको एसईई सञ्चालन हुन नसकेपछि सरकारले विद्यालयले दिने प्राप्तांकलाई आधार बनाएर विद्यार्थीलाई ग्रेड सिट दिन लागेको हो। परीक्षाका लागि चार लाख ८० हजार विद्यार्थीले फाराम भरेका थिए।

कक्षा ११ को परीक्षा के गर्ने भन्नेबारे अध्ययन भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए। उनले भने, “अध्ययन गर्न गठित समितिले अध्ययन गरिरहेको छ। त्यसको प्रतिवेदनका आधारमा बोर्डले निर्णय गर्छ।”

कक्षा ११ को परीक्षा नहुँदा कक्षा १२ को पढाइ कहिलेदेखि हुने भन्ने अन्योल छ।

प्रकाशित: Jun 30, 2020| 15:39 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्