विराटनगर– प्रदेश १ मा २१ प्रतिशत धान रोपाइँ भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्म २१.४८ प्रतिशत रोपाइँ भएको छ।
प्रदेशको मध्यपहाडमा २९.२४ प्रतिशत रोपाइँ भएको छ। झापा, मोरङ, सुनसरीमा १९.०९ प्रतिशत र उच्च पहाडमा १४.६१ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ।
प्रदेश १ मा तीन लाख ४० हजार आठ सय २९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ।
७३ हजार २ सय २३.२५ हेक्टरमा रोपाइँ भइसकेको छ। कुल धानखेती हुने क्षेत्रफलको यो २१.४८ प्रतिशत हो।
यसपटक मौसम अनुकूल भएकाले समयमै रोपाइँ सम्पन्न हुने निर्देशनालयले जनाएको छ ।
उच्च पहाडी जिल्ला सोलुखुम्बुमा ६० प्रतिशत धान रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयका निमित्त निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए।
ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाइँ भएको छ।
संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। अहिलेसम्म जिल्लामा १० प्रतिशत धान रोपाइँ भएको छ।
ओखलढुंगामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये १७ प्रतिशत धान रोपाइँ भएको प्रमुख डाँगीले जानकारी दिए।
भोजपुरमा १ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। हालसम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।
धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। अहिलेसम ४० प्रतिशत रोपाइँ सकिएको छ।
तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर क्षेत्रफलमध्ये ५० प्रतिशत र उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये २० प्रतिशत रोपाइँ भएको छ।
खोटाङमा १२ हजार ८ सय ९८ मध्ये ३० प्रतिशत रोपाइँ सम्पन भएको छ। पाँचथरमा ९ हजार २ सय हेक्टर क्षेत्रफलमध्ये १७ प्रतिशत र इलाममा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमध्ये १५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ प्रतिशत धान रोपाइँ भएको छ। मोरङमा भने ३० प्रतिशत धान रोपाइँ भएको छ। मोरङमा ८३ हजार ३ सय हेक्टरमा धान खेती हुन्छ। यसध्ये २४ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ।