काठमाडौं- नेपाल-भारत सीमा विवाद मुख्य एजेन्डा रहेको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेताहरुले आपत्ति जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा नेपाल–भारत सीमा विवाद प्रमुख अजेन्डा थियो।
सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले सबैको धारणा सुन्नुपर्नेमा बिनाजानकारी अनुपस्थित भएर जैरजिम्मेवार बनेको भन्दै अधिकांश नेताहरुले आपत्ति जनाएको स्थायी समिति सदस्य छविलाल विश्वकर्माले नेपाल समयलाई बताए।
बैठकमा बोल्ने सबै नेताहरुले सीमा विवादलाई कुटनीतिक वार्तामार्फत छिटो टुंग्याउनुपर्ने, नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन भारतीय पक्षलाई बुझाउन थप पहलकदमी लिनुपर्ने विषयमा आ–आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठले भने, ‘ईपीजी प्रतिवेदनले नेपाल भारत सम्बन्धका सबै आयाममा छलफल गरेर हाम्रो सम्बन्धलाई नयाँ उचाइमा लैजान बैठकमा सुझाव दिएको छ। प्रतिवेदन भारतका प्रधानमन्त्रीले अहिलेसम्म नबुझेकोमा त्यसलाई छिटो बुझाउन पहल गर्न नेताहरुले जोड दिनुभयो।’
स्थायी कमिटी सदस्यहरुले अतिक्रमित भूमि समेटिएको नक्सा संविधानको अनुसूचीमा राख्ने काम ऐतिहासिक पहलकदमी भन्दै त्यसलाई तार्किक निष्कर्षमा पुर्याउन दृढतापूर्वक अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
उनीहरुले लिम्पियाधुरा, लिपुलेक मात्र होइन, सुस्ता लगायतका सीमा विवादका बारेमा पनि भारतीय पक्षसँग वार्ता गर्नुपर्ने बताएका थिए। यसका लागि सकारात्मक रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा उनीहरुको थियो।
बैठकको सुरुमा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सुगौली सन्धिदेखि अहिलेसम्मका दस्ताबेज प्रस्तुत गर्दै भारतसँग रहेको सीमा विवादबारे जानकारी गराएका थिए।
कूटनीतिक संवादद्वारा नै नेपालको अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा भारतसँग पहल भइरहेको उनको भनाइ थियो।
ज्ञवालीले भनेका थिए, ‘कूटनीतिक वार्ताका लागि पहल जारी छ तर, भारतले सकारात्मक तत्परता देखाएको छैन। हामी आशा गर्छौं, भारत वार्ताका निम्ति तयार हुनेछ। कूटनीतिक बाटोबाट नै यो मुद्दाको सकारात्मक समाधान हुनेछ।’
'चीनसँग सीमा विवाद रहेको समाचार भ्रामक'
परराष्ट्रमन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनले पनि नेपाली भूमि अतिक्रमण भएको भन्ने भ्रामक समाचार प्रसारण गरेको भन्दै त्यसमा विश्वास नगर्न नेताहरुसँग आग्रह गरेका थिए।
उनले भनेका थिए, ‘चीनसँग सीमा अतिक्रमणको कुनै समस्या छैन। यस्ता भ्रामक समाचारको विश्वास नगर्नुहोला।’
केही दिनअघि केही पत्रपत्रिकामा चीनसँग सीमा विवाद रहेको समाचार आएपछि सरकारले पनि यसको खण्डन गरेको थियो।
१८ जनाले सम्बोधन गरे
नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलाममणि पोखरेल, मातृका यादव, पम्फा भुसाल, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, छविलाल विक, वेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहोरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आआफ्ना धारणा राखेका थिए।
अर्को बैठक भोलि शनिबार ११ बजे बस्नेछ। बैठकमा बाँकी एजेन्डामा छलफल हुनेछ।