काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले ६ वटा कम्पनीलाई कारबाही गरेको छ।
तोकिएको गुणस्तर कायम नगरेको तथा इजाजत पत्र स्थगन भएको बेलामा समेत कारोबार गरेको भन्दै चारवटा सिमेन्ट, एक ग्यास उद्योग र एक मिल्सलाई विभागले कारबाही गरेको हो ।
कारबाहीमा परेका चारवटा सिमेन्टहरुमा रिलायन्स सुपरटेक, इन्टरनेसनल, अग्नि र सर्वोत्तम सिमेन्ट उद्योग छन्। कारबाहीमा परेका सिमेन्टमध्ये रिलायन्स सुपरेटेक सिमेन्ट र इन्टरनेसनल सिमेन्टले भने आफूले कारोबार गर्न पाएको इजाजतपत्र स्थगन रहँदा पनि बिक्री वितरण गरेको भेटिएको थियो।
विभागका उपनिर्देशक दिनानाथ मिश्रका अनुसार ती दुवै सिमेन्टलाई विभागले नेपालको गुणस्तर (प्रमाण चिह्न)नियमावली २०४० को नियम १६ अनुसार इजाजत पत्र रद्द गरेको छ ।
त्यस्तै अग्नि र सर्वाेत्तम सिमेन्टको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड नपुगेकाले उनीहरुलाई भने स्पष्टीकरण माग गरेर छोडिएको मिश्रले जानकारी दिए ।
त्यस्तै एभरेस्ट ग्यास उद्योगको भने सिलिन्डर नाप अनुसारको नभएकाले हाललाई ग्यास उत्पादनको लागि पाएको लाइसेन्स स्थगन गरिएको विभागले जनाएको छ।
त्यसैगरी कमल रोलिङ मिल्सले पनि गुणस्तर कायम नगरेको पाइएपछि विभागले स्पष्टीकरण सोधेको छ।
