काठमाडौं– कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाको समूह ‘इनफ इज इनफ’ ग्रुपले अनशन गर्ने भएको छ।
ग्रुपले पीसीआर परीक्षण बढाउन, आरडीटी टेस्ट रोक्न, क्वारेन्टिनको उचित व्यवस्थानको मागसहित ललितपुर, पाटनस्थित कृष्ण मन्दिर परिसरमा अनशन गर्ने भएको हो।
शुक्रबार १ बजे अनशनको कार्यक्रम राखिएको ग्रुपले जनाएको छ। अनशनमा सहभागीहरुले पानी खाने छैनन्।
ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले चाहेमा धेरै गर्न सक्थ्यो। भ्रष्टाचारमा लिप्त भएर सरकार जनताको जीवन जोगाउन असफल हुँदै गएको छ। यसको हामी घोर विरोध गर्छौं’
ग्रुपले यसअघि सरकारको कामकारबाहीको विरोध गर्दै हस्ताक्षर संकलन, जनप्रतिनिधिलाई एसएमएसमार्फत जवाफ माग, मुलुकभर १०० भन्दा बढी स्थानमा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलगायत कार्यक्रम गरिसकेको छ।