काठमाडौं- रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको घटनामा संलग्न रहेको अभियोग लागेकी किशोरीकी आमा धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छन्।
उनलाई रुकुम जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार यस्तो आदेश गरेका थिए।
धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। उनले भने, ‘बाँकी विषय अब कानुनअनुसार हुन्छ।’
उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६(२) राखेको छ। प्रतिवादी डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो।
अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राति नै जिल्ला कारागार चलान गरिएको हो।
आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो। साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्।
यसअघि दुई जना नाबालक (नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त) लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भइसकेको छ।
गत जेठ १० रुकुम चौरजहारीमा प्रेमिका लिन भनी गएका नवराज बिकसहितका १९ जनामाथि आक्रमण भएको थियो। उक्त घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो।