काठमाडौं- जनता समाजवादी पार्टीका सांसद मृगेन्द्र कुमार सिंह यादवले नागरिकता संशोधन विधेयकमा भेदभाव गरिएको आरोप लगाएका छन्।
राष्ट्रियसभा बैठकमा बोल्दै सांसद यादवले नागरिकता विधेयकले बुहारीमाथि प्रहार भएको बताए।
उनले भने, ‘विभिन्न संस्कृति जस्तै मधेस संस्कृतिमा बिहे गरेर सिन्दुर दान भएपछि र सात फेरो लगाएपछि हामीले उनलाई अर्धाङ्गीनी मान्छौँ, अर्धाङ्गीनी अर्थात् आधा अंगमाथि प्रहार भएको छ।’
उनले यसअघिको नागरिकता ऐनमा के बिग्रिएको थियो भन्दै सत्तारुढ दलमाथि प्रश्न उठाए।
उनले प्रश्न गरे, ‘हामीले बिहे गरेर ल्याउँदा के बिग्रिएको थियो ? कोशी, गण्डकी, महाकाली के हामीले बिहे गरेर ल्याएका बुहारीले बेचेका हुन्, तिनिहरुले नै राष्ट्रघाती सम्झौता गरेका हुन्?’
उनले बुहारीलाई दिने अंगिकृत नागरिकताका विषयमा गरेको प्राबधानले आफूहरुको भावनामाथि चोट पुर्याएको बताए।
राष्ट्रियसभा सदस्य यादवले सरकारले दुई तिहाईको दम्भ देखाएर संविधानको मर्मविपरीतको काम गरेको आरोप लगाए।