काठमाडौंको टोखामा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँ श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको थियो। अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।