काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन्।
संवादका क्रममा दुवै पक्षले कोभिड–१९ महामारीविरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री र विदेशमन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरेका थिए।
दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्त्वबारे पनि छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयले जनाएको छ।
टेलिफोन वार्तामा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए।