विराटनगर– नेपाल चेम्बर अफ कमर्स, मोरङले साना उद्योगी–व्यवसायीको पाँच लाखसम्मको ऋण मिनाहाको माग गरेको छ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चेम्बर, मोरङ अध्यक्ष सुरेशमान श्रेष्ठले लकडाउनका कारण समस्या परेकाले साना उद्योगी–व्यापारीको बैंक ब्याज र करमा छुटका साथै पाँच लाख रुपैयाँसम्मको ऋण मिनाहाको व्यवस्था हुनुपर्ने माग गरे।
नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीलाई बैंक ब्याजमा राहतको व्यवस्था गरे पनि कतिपय बैंक तथा वित्तीय संस्थाले छुट नदिएको उनको आरोप छ। उनले राष्ट्र बैंकले निर्दिष्ट गरेको बैंक ब्याज तथा ऋण सुविधा सबैलाई उपलब्ध गराउन माग गरेका छन्।
उनले किसानलाई पनि बैंक ब्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको व्यवस्था गरिनुपर्ने माग गरे।
बजेटको स्वागत
मोरङ चेम्बर अफ कमर्सले संघीय सरकार र प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको स्वागत गरेको छ।
संघीय सरकार र प्रदेश सरकारले बजेटमार्फत अघि सारेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यन्वयन पक्ष भने जटिल भएको चेम्बर अफ कमर्सले जनाएको छ।
प्रदेश १ सरकारले घरेलु, साना उद्योग तथा सहकारीको नवीकरण छुट दिनु सकारात्मक भएको चेम्बर अफ कमर्सले बताएको छ। दुवै सरकारको बजेटले कृषि व्यवसायीका लागि उत्साहित गरेको अध्यक्ष श्रेष्ठले बताए।