काठमाडौं- पोखराबाट आएको एउटा बस बुधबार बिहान झिसमिसेमै नागढुंगा पुग्यो। विदेशबाट फर्किएकाहरुलाई काठमाडौंबाट लगेर सम्बन्धित ठाउँमा छोडेर फर्किंदै थियो।
नियमित सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले चालकलाई सोध्दा बसमा आफू र सहचालक मात्र रहेको जवाफ फर्काए।
प्रहरीलाई शंका लागेर ग १ ख ९७ ३३ नम्बरको उक्त बसभित्रै पसेर हेर्दा जुन दृश्य देखियो त्यो प्रहरीलाई आश्चर्यचकित बनायो।
चालकले आफूहरु दुई जनामात्र रहेको भने पनि बसभित्र थप आठ जना यात्रु पनि थिए। तर, सिटमा भने कोही थिएन। ती सबै यात्रु सिटमुनि थिए।
‘सिटमुनि निकै अप्ठेराे पाराले सुतेको भेटियो’, महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेमविक्रम थापाले भने, ‘प्रहरीको आँखा छल्न सिटमुनि सुतेर राजधानी छिर्न खोजेका थिए तर, बिना पासका उनीहरु सबैलाई जताबाट आएको हो उतै फिर्ता गरियो।’
यात्रुलाई फिर्ता पठाएर बस र चालक दलबहादुर थापा मगर र सहचालकलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ।
महानगरीय प्रहरी वृत थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले सवारी पास दुरुपयोग गर्दै भाडा लिएर यात्रु ओसार्ने उनीहरुविरुद्ध संक्रामक रोग ऐन, २०२० अन्र्तगत कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए।
श्रेष्ठका अनुसार लकडाउन अवधिमा सवारी पास दुरुपयोग गर्ने तथा बिना पास रकम लगेर यात्रु ओसार्ने सातवटा गाडीलाई कारबाही प्रक्रिया अघि बढेको छ।
प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा जाँचमा निकै कडाइ गरेको छ।
डीएसपी श्रेष्ठका अनुसार प्रतिदिन सवारी पासबिना राजधानी भित्रिन लागेका झन्डै एक सयको संख्यामा सवारीसाधनलाई सम्बन्धित ठाउँमा फिर्ता गरिएको छ।
लकडाउन सुरु हुनुपहिले तथा लकडाउनको बीचमा राजधानी छोडेर घर गएकाहरु यतिबेला राजधानी भित्रिने क्रम बढेको छ। राजधानी भित्रिनेमा अधिकांश सरकारी तथा गैरसकारी क्षेत्रका कर्मचारी, व्यापारी तथा बिरामी छन्।
सरकारले कार्यालयहरु खोल्ने निर्णय गरेसँगै राजधानी भित्रिनेको संख्या बढेको हो। प्रहरीका अनुसार नागढुंगाबाटै फर्काइएकामा अधिकांश राजधानीमा व्यापार व्यवसाय गर्ने छन्।
बिनापास पनि राजधानी छिर्न पाइहाल्छौं भनेर टाढा टाढाबाट उनीहरु आउने गरेको प्रहरी निरीक्षक थापाले बताए। पासबिना कसैलाई पनि छिर्न नदिने सरकारको नीतिअनुसार जरुरी काम नभएकाहरु जताबाट आएका हुन् उतै फिर्ता पठाउने गरिएको थापाले जानकारी दिए।
नागढुंगा पुगेर पुन घर फर्किनुपर्दा भने धेरैले निकै दुःख भोग्नुपरेको छ। सरकारले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दा जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरेको छ।
क्यामेरा : गिरीप्रसाद भुसाल