काठमाडौं- कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलियामा अलपत्र परेका नेपालीलाई फर्काउन सुरु गरिएको छ।
नेपाल फर्किन इच्छुक १३ सयमध्ये आज (मंगलबार) पहिलो चरणमा २ सय ५९ जनालाई काठमाडौं ल्याइने भएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत उनीहरुलाई नेपाल ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। आज फर्किन लागेका मध्ये धेरैजसो छोरा छोरी भेट्न पुगेकाहरु छन् । उनीहरु लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए।
यस्तै आजको जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन् । नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल पुगेको दुतावासले जनाएको छ ।
जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ। नेपाल आइपुगेपछि पनि उनीहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ।
फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ । प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ। दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ ।