काठमाडौं– आइतबार एकैदिन १२ अर्ब ८३ करोड १७ लाख रुपैयाँ राजस्व उठेको छ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार आइतबारको तथ्यांक जोड्दा चालु आर्थिक वर्षमा राजस्व संकलन ६ खर्ब ७६ अर्ब ६२ करोड ७१ लाख रुपैयाँ पुगेको हो।
आइतबार एकैदिन सरकारले १७ अर्ब ७८ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम चालु, पूँजीगत र वित्तीय व्यवस्थापन अन्तर्गत हो।
सरकारको राजस्वभन्दा खर्चमा आइतबार मात्र पनि करिब पाँच अर्ब रुपैयाँभन्दा बढी छ।
चालु आर्थिक वर्षको आइतबारसम्म सरकारले ७ खर्ब ३८ अर्ब २ करोड ४९ लाख रुपैयाँ खर्च गरिसकेको छ।
सरकारलाई खर्च धान्न मुस्किल परेको अवस्थामा सहयोग गर्नुपर्ने भन्दै निजी क्षेत्रले कर तिर्न थालेपछि राजस्वमा वृद्धि भएको हो।
सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनापछि मात्र राजस्व तिर्नुपर्ने गरी आदेश जारी गरे पनि राजस्व तिर्न सक्षम कम्पनीहरूले कर तिर्न थालेका छन्।
असार सुरु भएसँगै अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले निजी क्षेत्रलाई व्यक्तिगत रुपमै फोन गरेर कर तिर्न आग्रह गरेका थिए।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग, अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयका प्रमुखले विभिन्न कम्पनीका सिईओदेखि संघ–संस्थाका अध्यक्षलाई समेत कर तिर्नका लागि मौखिक आग्रह गरेका थिए।
यसअघि सरकारले असार ७ गतेभित्र कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको थियो। लकडाउनको अवधिमा कर तिर्न बाध्य बनाउन नहुने भन्दै अदातलमा सरकारको उक्त निर्णयविरुद्ध मुद्दा परेको थियो।
सर्वोच्च अदालतले निजी क्षेत्रको पक्षमा फैसला गरे पनि सरकारले भने मौखिक रुपमा कर तिर्न आग्रह गरेको थियो।
सरकारलाई समस्या परेको बेलामा सक्नेले कर तिरौं भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन दाहालले औपचारिक रुपमै सदस्यहरुलाई आग्रह गरेका थिए।