काठमडौं- कोरोना परीक्षण नगरी अदालतमा पेश गर्न लगिएका एक अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले फिर्ता पठाएको छ।
विद्युतीय अपराधका आरोपी एकराम राईलाई न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो।
अभियोग पत्रसाथ अदालतमा उपस्थित गराइएका राईको पीसीआर परीक्षण नभएका कारण उनीविरुद्धको मुद्दामाथि कारबाही नभएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
जेठ २८ गते पक्राउ परेका राईलाई जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा पेश गरेको थियो।
हिरासतमै हुँदा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पेश गरिएको भए पनि अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेर मात्र अदालत पेश गर्न आदेश दिएको श्रेष्ठले जानकारी दिए।
साथै अदालतले अभियुक्तलाई हिरासतबाट अदालतसम्म ल्याउने सुरक्षाकर्मी पनि भौतिक रुपमा निकट भई काम गर्नुपर्ने भएकाले उनीहरूको पनि अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने आदेश दिएको छ।