मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शेखर काेइराला भन्छन्, काेराेना देखाएर कांग्रेस महाधिवेशन रोक्न खोजिए लोकतन्त्रका लागि दुर्भाग्य

शेखर काेइराला भन्छन्, काेराेना देखाएर कांग्रेस महाधिवेशन रोक्न खोजिए लोकतन्त्रका लागि दुर्भाग्य

'कांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पद्धतिअनुसार हिँड्नुपर्यो र महाधिवेशन गराउनुपर्यो। समयमा महाधिवेशन गर्न नसक्ने पार्टीले लोकतान्त्रिक पद्धतिमा हिँड्दैछु भनेर अरुलाई सिकाउन मिल्दैन।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरसकाे कारण देखाएर पार्टीकाे चाैधाैं महाधिवेशन रोक्न खोजियो भने नेपालको लोकतन्त्रका लागि ठूलो दुर्भाग्य हुने बताएका छन्। 

जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्य समिति मोरङले सोमबार आयोजना गरेको भर्चुअल छलफलमा सहभागी हुँदै कोइरालाले भने, 'कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने हो भने तोकिएको समयमा अधिवेशन गर्न जरुरी छ।'

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा गर्ने कार्यसूची छ।

उनले भने, 'कांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पद्धतिअनुसार हिँड्नुपर्यो र महाधिवेशन गराउनुपर्यो। समयमा महाधिवेशन गर्न नसक्ने पार्टीले लोकतान्त्रिक पद्धतिमा हिँड्दैछु भनेर अरुलाई सिकाउन मिल्दैन।'

उनले अधिवेशन भएन भने जतिसुकै ठूलो कुरा गरे पनि संगठन मजबुत नहुने भन्दै अधिवेशन गर्नका लागि के के गर्नुपर्छ त्यसमा गम्भीर छलफल चलाउन आग्रह गरे।

नेता कोइरालाले तेह्रौं महाधिवेशन क्रियाशील सदस्यताका आधारमा पनि फागुनभित्रै अधिवेशन गर्न सकिने विकल्पमा छलफल गर्नुपर्नेमा जोड दिए।

उनले भने, 'भीडभाड गरेर अधिवेशन गर्नु पर्छ भन्ने पनि छैन । जिल्लाजिल्लामा बाकस राखेर पनि अधिवेशन गर्न सकिन्छ।' उनले २०१४ सालसम्म जिल्लाजिल्लामा बाकस राखेर अधिवेशन गराएको उनले स्मरण गरे।

उनले कोरोना भाइरसको डर पाखुरामा भ्याक्सिन नलागेसम्म रहिरहने भएकाले त्यसकै कारण पार्टीको जीवन रहेको महाधिवेशन रोक्न नहुने बताए।

कोइरालाले कांग्रेसको अधिवेशन भएन भने नेकपा वा जनता समाजवादी कसैको पनि अधिवेशन हुन नसक्ने बताए।

उनले पछिल्ला दिनमा देशमा राजनीतिक दलहरु गौण हुन थालेको आभास हुन थालेको बताए। नेता कोइरालाले भने, 'काठमाडौंका सडकमा युवाहरु प्लेकार्ड लिएर उभिएका हुन्छन् तर नेविसंघ, तरुण दल र कांग्रेसको उपस्थिति छैन। कसले गराइरहेको छ ? किन भइरहेको छ यस्तो?'

अर्को प्रसंगमा नेता कोइरालाले संवैधानिक निकाय प्रधानमन्त्रीको मुठीमा रहेकाले ती निकायले स्वतन्त्र रुपमा काम गर्न सक्ने अवस्थामा नरहेको बताए।

उनले भने, 'संवैधानिक निकाय आफूले निर्णय गर्ने अवस्थामा छैनन्। अन्य संवैधानिक निकाय पनि प्रधानमन्त्रीले जे भन्यो त्यो गर्न थालेका छन्। न्यायपालिकाले केही गर्न खोजेजस्तो देखिए पनि भ्रष्टाचार, विवादास्पद अध्यादेश, सांसद अपरहणलगायतका प्रकरणमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच दुई दुई पटक भेट भएको तपाईंहरुलाई थाहै छ। यी सबै कुरा थाहा हुँदाहुँदै पनि मनको भयका कारण हामीले केही भन्न सकेका छैनौं। तर भय व्यक्त नगरेसम्म कांग्रेस सुदृढ हुन सक्दैन।'

कोइरालाले लकडाउनका बेला नागरिकको व्यवस्थापनमा कांग्रेस चुकेको बताए। उनले भने, 'केन्द्र र जिल्लाका क्वारेन्टिनको व्यवस्थापनमा हामी पनि चुकेका छौं। अब त्यसो गर्न दिनु हुँदैन।' 

कोइरालाले सरकारलाई बहुमतको दम्भ रहेकाले जे पनि गर्न सक्छौं भनेर मनपरी नगर्न आग्रह गरे। उनले भने, 'म आग्रह गर्छु, प्रधानमन्त्रीजी हामी राष्ट्रियता र प्रजातन्त्रका लागि ज्यान दिन्छौं, तर तपाईंहरुलाई गलत बाटोमा हिँड्न दिँदैनौं।'

उनले नेकपाको नेतृत्व देशलाई अधिनायकवादतर्फ लैजान लागिरहेको बताए। चिनियाँ कम्युनिस्ट नेताहरुसँग हालै प्रशिक्षण यसको उदाहरण रहेको उनको भनाइ छ।

भारतसँगको सीमा विवाद कांग्रेस नेतृत्वमा वार्ताद्वारा समाधान गर्नु आवश्यक रहेकोमा उनले जोड दिए।

एमसीसीलाई अमेरिकी दूतावासले नै गिजोलिरहेको छ

नेता कोइरालाले एमसीसीलाई अमेरिकी दूतावासले गिजोलिरहेको आरोप लगाए। कोइरालाले भने, 'दूतावासबाट एकचोटि विज्ञप्ति आउँछ, यो इन्डो प्यासेफिक रणनीतिकै एउटा भाग हो, फेरि केही दिनपछि विज्ञप्ति आउँछ, यो इन्डो प्यासेफिक रणनीतिको भाग हैन। यसले नेपालीलाई अलमल्याइदिएको छ।' 

उनले कुनै पनि देशले अनुदान वा ऋण दिन्छ भने उसको के स्वार्थ हेर्नुपर्ने बताए। उनले भने, 'त्यो स्वार्थ हाम्रो अनुकूल छ वा प्रतिकूल छ भनेर बुझ्ने नेपालीले नै हो। एमसीसी हाम्रो अनुकूल छ भनेर नै कांग्रेसले पक्षमा मतदान गर्ने निर्णय गरेकाे हाे।'

उनले एमसीसीभित्र भूराजनीतिक अवस्था पनि रहेको बुझ्न आग्रह गरे। नेता कोइरालाले कस्तो भूराजनीतिक अवस्था हो भन्नेबारे केही स्पष्ट पारेनन्। 

 

प्रकाशित: Jun 22, 2020| 16:35 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।