स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरिएको बताएको छ ।
मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको जनाएको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताए।
‘‘अहिलेकै दरमा सङ्क्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजार सङ्क्रमण हुने र तीमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ,’’ उनले भने, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आइसियु श्यया तयार पारेका छौँ ।’’
सङ्क्रमण बढदै गएपछि मन्त्रालयले प्रति प्रदेश दुई/दुई वटा अस्पतालका दरले पाँच/पाँच वटा आइसियु र दुई दुई वटा भेन्टिलेर बनाउन निर्देशन दिएको थियो। यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० आइसियु श्यया बनाएकोमा त्यो सङ्क्रमित बढ्दै गएपछि भेन्टिलेर र आइसियु शैय्या थप गरेको हो । मन्त्रालयले कोभिड –१९ सङ्क्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आइसियु श्ययाले पुग्ने आँकलन गरेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ९८ प्रतिशत सङ्क्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताए। उनले सङ्क्रमण नदेखिएका बिरामीलाई भेन्टिलेटर र आइसियुको आवश्यकता नपर्ने बताए। उनका अनुसार अहिले काठमाडौंमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना आइसियुमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०/२० श्ययाको आइसियु बनाउने निर्देशन भए बमोजिम तयार पारेको जनाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा रहेका १० मध्ये तीन सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए। अन्य सात जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । उनले ती सङ्क्रमितलाई सास फेर्न गाह्रो हुने र क्लिनिकल्ली रुपमा ठिक नभएका सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए। निर्देशक डा राजभण्डारीले आइसियुमा रहेको बिरामी पनि त्यति गम्भीर खालका नभएको बताए।
अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कूल नौ हजार २६ जना सङ्क्रमण देखिएका छन् । तिमध्ये एक हजार ५७८ जना डिस्चार्ज भएका छन् भने २३ जनाको कोभिड–१९ को कारणले निधन भएको छ ।
यसैगरी अहिलेसम्म सात हजार २३१ सङ्क्रमित आइसोलेशनमा छन् । एक लाख ७५ हजार १७३ जनाको पीसीआर र दुई लाख ६२ हजार १७४ को आरडीटी परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ ।
रासस