मंगलबार, जेठ ५, २०८३

तनाव कम गर्न अपनाउनुस् यी उपाय

तनावको कुनै अचुक औषधि हुँदैन। त्यसैले यसको व्यवस्थापन नै उत्तम विकल्प हो।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं– हरेक मानिसलाई केही न केहीको तनाव हुन्छ। दौडधुप, व्यस्तता, कामको चाप, आर्थिक तथा पारिवारिकलगायत तनाव मानिसले झेलिरहेको हुन्छ। अनावश्यक तनाव, सानो विषयमा धेरै डुब्नेलगायत कारणले मानिसको शारीरिक मानसिक तथा समाजिक स्वास्थ्यमै असर गर्छ। त्यसैले तनावको सही व्यवस्थापन गरेर अगाडि बढ्दा मानिस सफल र खुसी हुन्छ।

National life

तनावको कुनै अचुक औषधि हुँदैन। त्यसैले यसको व्यवस्थापन नै उत्तम विकल्प हो। अमेरिकी पत्रिका हेल्थ लाइन डटकमका अनुसार तनाव कर्म गर्न निम्न उपाय अपनाउन सकिन्छ।

१. संगीत सुन्नुस्

तनाव भएको समयमा गीत÷संगीत सुन्दा दिमागमा ताजगी प्रदान हुन्छ। मनपर्ने गीतमा झुम्दा तनावका विषय बिर्सिन सहयोग मिल्छ। यसले तनावको हर्मोन घटाउन पनि मद्दत गर्छ। संगीतमा आनन्द लिंदा रक्तचाप नियन्त्रण पनि हुन्छ।

२. साथीसंगीसँग गफ गर्नुस्

तनावको विषय साथीसँग खुलेर राख्नुस्। साथीको ढाडसले तपाईंलाई धेरै राहत मिल्छ। उनीहरुसँग रमाइला गफ गर्नुस्। समय मिलाएर घुम्न निस्कनुस।

३. आफूलाई पर्याप्त समय दिनुस्

हरेक दिनको दौडधुपले मानिसले आफैंलाई समय दिएको हुँदैन। त्यसैले आफूलाई समय दिने, एकाग्र हुने, मनपर्ने काम गर्ने, प्रियजनसँग समय बिताउनाले तनाव कम गर्न भूमिका खेल्छ।

४. सन्तुलित भोजन

मानसिक र शारीरिक विकासमा खानाको ठूलो भूमिका हुन्छ। त्यसैले पर्याप्त पानी खाने, सफा र स्वच्छ खाना खाने गर्नुपर्छ। तनाव हुँदा मानिसले खाना खाँदैन जसले गर्दा झन् तनाव बढ्छ। त्यसैले समयमै खाना खाने र झोल कुराहरू बढी खाँदा तनाव कम हुन्छ।

५. खुसी हुने बहाना खोज्नुस

तनाव नहुने मान्छे सायदै कोही हुन्छ। सबैलाई आ–आफ्नै किसिमको तनाव र दबाब महसूस हुन्छ। बाहिर खुुसी देखिने मानिसलाई तनाव छैन भनेर सोच्नु हुँदैन। जति धेरै जिम्मेवारी हुन्छ मान्छेलाई तनाव पनि उत्तिकै हुन्छ। त्यसैले तनावलाई हाँसो र खुसीले थिच्ने प्रयास गर्नुस्।

६. चिया वा कफी खानुस्

चिया वा कफीमा पाइने ‘क्याफिन’ले तनाव कम गर्न मद्दत गर्छ। त्यसैले मनपर्ने मान्छेसँग कफी वा चिया खाने गर्नुस्। रमाइलो कुरा गर्दै कफीमा समय बिताउँदा तनाव कम हुन्छ। सकभर तनाव दिने विषय बिर्सिने उपाय खोज्नुस्। अन्य कुरामा आफूलाई व्यस्त राख्नुस्।

७. कसरत

कसरतले मानिसलाई शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ राख्छ। कसरत गर्दा मानिसको ध्यान अन्य कुरामा जाँदैन। त्यसैले नियमित कसरत गर्दा तनावबाट मुक्त हुन सकिन्छ। योगा पनि तनावबाट मुक्त हुने राम्रो उपाय हो।

८. पर्याप्त निद्रा

पर्याप्त निद्रा पुगेन भने मानिसलाई अनेक खालको शारीरिक, मानसिक समस्या देखिन सक्छ। निद्रा नपुग्दा थकान, टाउको दुख्ने, काम गर्न जाँगर नचल्ने हुन्छ। यसले तनाव थप्छ। त्यसैले पर्याप्त निद्रा पुग्ने गरी सुत्नुपर्छ। विस्तारामा जानुअघि मोबाइल, टिभीलगायतका सामग्रीहरू बन्द गर्नुस्।

 

प्रकाशित: Jun 22, 2020| 13:40 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्