काठमाडौं- नेपाल-भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता शालिकराम सापकोटा, नायक नवल खड्का, कानुन व्यवसायी गीता शाह र अधिवक्ता सुवाश विश्वकर्माले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
नेपालले हालसम्म राज्यको सीमा सुरक्षा र संरक्षण सम्बन्धी कानुन बनाउन नसकेकाले तत्काल कानुन बनाएर यसै आर्थिक वर्षदेखि तारजाली लगाउन परमादेशको माग रिटमा गरिएको छ।
सीमा क्षेत्रलाई सुरक्षा प्रदान गर्न, फौजदारी अपराध पत्ता लगाउन र रोक्न, सीमा क्षेत्रमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य, वातावरणको सुरक्षा र अवैध आप्रवासन रोक्नका लागि रिट दायर गर्नु परेको अधिवक्ता सापकोटाले बताए।