काठमाडौं- नेपाल शिक्षक संघले कोरोना भाइरस महामारीको भय र स्वास्थ्य असुरक्षाका बीचमा विद्यालयमा पठनपाठन थाल्न गरिएका निर्देशनहरु स्वास्थ्य सुरक्षा र संक्रमण रोकथामका दृष्टिले उपयुक्त नभएको निष्कर्ष निकालेको छ।
कतिपय स्थानीय सरकारका तर्फबाट शिक्षकहरुलाई विद्यार्थीसहित विद्यालयमा उपस्थित भई पठनपाठन थाल्न दबाब दिइरहेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले कोरोना महामारीको यथास्थितिमा विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्ने अवस्था नरहेको ठहर गरेको हो।
संघले आइतबार विज्ञप्ति जारी गर्दै विद्यालयमा औपचारिक शिक्षण क्रियाकलाप थाल्नुपूर्व सजगता र विद्यार्थी एवम् शिक्षकलाई सुरक्षित राख्न विभिन्न प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'सामुदायिक विद्यालयमा राखिएका क्वारेन्टिनहरु तथा आइसोलेसन वार्डहरु हटाइनुपर्छ र विद्यालयहरुलाई पूर्ण रुपमा स्यानिटाइजिङको प्रबन्धसहित सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ।'
संघले सम्पूर्ण शिक्षकहरुको अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्न, शिक्षाकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन, सबै विद्यालयमा स्वास्थ्यकर्मी र स्वास्थ्य सुरक्षा सामग्रीहरुसहितको हेल्थ डेस्कको व्यवस्था गर्न र विद्यालय प्रवेशपूर्व विद्यार्थी र शिक्षाकर्मीको कोरोना परीक्षण (पीसीआर) को व्यवस्था गर्न माग गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष यम पी भुसालले यी आधारभूत स्वास्थ्य सुरक्षाको प्रत्याभूति नगरीकन विद्यालयमा पठनपाठन थाल्दा महामारीको संक्रमण थप फैलन सक्ने भएकाले संवेदनशील भइदिन सम्बन्धित स्थानीय सरकारलाई आग्रह गरे।
उनले भने, 'विद्यालय तत्काल खोल्न सकिने अवस्था छैन। विद्यार्थीविनाका शिक्षक उपस्थित हुनुको अर्थ पनि छैन। त्यसैले शिक्षण संस्थामा पठनपाठन गर्न सक्ने अवस्था नभईकन यस्ता निर्देशन दिनुको कुनै औचित्य छैन।'
