मंगलबार, भदौ ९, २०८३

सेयर बजार तत्काल खोल्न लगानीकर्ताको माग

लगानीकर्ताले तत्कालै सेयर बजार खुला गर्न सरकारसँग माग गरेका छन्।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

काठमाडौं- लगानीकर्ताले तत्कालै सेयर बजार खुला गर्न सरकारसँग माग गरेका छन्। सरकारले लकडाउन केही खुकुलाे बनाए पनि सेयर बजार खुला गरेकाे छैन।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको अन्तरक्रियामा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नियामकको कमजोरीका कारण बजार खुल्न नसकेको बताइन् । लगानीकर्तालाई कारण देखाएर बजार बन्द गरे पनि यसले सबैभन्दा मर्का लगानीकर्तालाई नै परेको उनले दाबी गरिन् ।

लगानीकर्ता प्रकाश तिवारीले केही व्यक्तिको सनकका भरमा नेपाल धितोपत्र बोर्डले बजार बन्द गरेको आरोप लगाए। बजारमा अनलाईनमार्फत कारोबार हुन सक्ने पूर्वाधार विकास गरी तत्काल बजार सञ्चालनमा ल्याउन उनले माग गरे ।
धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए। उनले बजारको विकासकालागि वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा भित्र्याउनुपर्ने आवश्यकता औंल्याए । 

सरकारले कोरोना संक्रमण रोक्न लकडाउन गरेपछि सेयर बजार पनि बन्द गरिएको थियो । यसै बीचमा २ दिन बजार खुला गरे पनि नेप्से परिसूचक घटेपछि पुनः बन्द गरिएको थियो।

सरकारले भने बैंक, वित्तीय संस्था, बिमा, धितोपत्र कारोबारलगायतका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। तर, धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने अनिश्चितकालीन कारोबार स्थगित गरेको छ ।

प्रकाशित: Jun 21, 2020| 15:56 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्