कैलालीमा रहेको सैपाल ग्यास उद्योग बिक्री भएको छ । सो उद्योग नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले किनेका छन्।
उद्योगी घिमिरेले सैपाल ग्यास उद्योग १८ करोडमा आफूले किनेको जानकारी दिएका छन् । उनले सुदूरपश्चिमका जनतालाई मध्यनजर राख्दै आफूले त्यहाँ उद्योग खोल्न चाहेको भए पनि सञ्चालनमा नै रहेको उद्योग बिक्रीमा रहेको जानकारी पाएपछि आफूले किनेको बताएका छन् ।
सैपाल ग्यास उद्योग, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा थियो। सो उद्योगको सञ्चालिका मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट छिन् । सो उद्योगमा भट्टका अन्य चार जना आफन्त पनि सञ्चालक थिए।
यसअघि उद्योगी घिमिरेका एभरेष्ट, सुगम, सहारा, त्रिशूल, कामाख्या र प्रिमा ग्यास उद्योग सञ्चालनमा छन्।
कैलालीमा रहेको सैपाल ग्यास उद्योगले तीन महिनाअघिमात्र सञ्चालनको लागि अनुमति पाएको थियो । उद्योग सञ्चालनका लागि लिइएको ऋण १२ करोड पुगेपछि मन्त्री भट्टले उद्योग बिक्री गरेको बताइएको छ।