पोखरा- गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ। शनिबार मुस्ताङमा पहिलाेपटक ८३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे छ। याेसँगै गण्डकी प्रदेशका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।
शनिबार मुस्ताङसहित अन्य जिल्लामा थप ५० जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ।
सबै सक्रमित सम्बन्धित पालिकाको क्वारेन्टिनमा रहेको र उनीहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथामका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए।
संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारका क्रममा पोखरामा मृत्यु भएको हो।