जनकपुरधाम- प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको चार जिल्लामा संक्रमण पुष्टि भएको हो।
शनिबार महोत्तरीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
जिल्लाको मटिहानी र गौशाला नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मानिसमा संक्रमण पुष्टि भएको झाले बताए। २४ जना थपिएसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ५३२ पुगेको छ।
रौतहटको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका मानिसमा संक्रमण देखिएको हो। ५ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ हजार ४४ पुगेको छ।
यसैगरी बाराका तीनजना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टिनमा रहेका पाँचजनामा संक्रमण पुष्टि भएको झाले बताए। पाँचजना थपिएसँगै बारामा संक्रमितको संख्या १०३ जना पुगेको छ।
सर्लाहीको दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको चक्करघट्टी गाउँपालिकाको क्वारेन्टिनमा रहेका दुईजनामा संक्रमण पुष्टि भएको हो। सर्लाहीमा कोरोना संक्रमितको संख्या ५४२ पुगेको छ।
हरेक दिन कोरोना संक्रमित थपिइरहेको प्रदेश २ मा पछिल्लो २४ घण्टामा ११७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
यसैगरी हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
३६ हजार १९९ जनाको स्वाब संकलन भएकोमा प्रदेश २ मा ७ हजार ९८७ जनाको पीसीआर नतिजा आउन बाँकी छ।
प्रदेशका विभिन्न जिल्ला गरी अहिले १० हजार २५३ जना क्वारेन्टिन, १७ हजार ६९ जना होम क्वारेन्टिन र ८२१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।