अछाम- अछाममा आरडीटी पोजेटिभ देखिएकी एक महिला मध्य राती क्वारेन्टिनबाट भागेकी छन्।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ८ स्थित मालिका मावि क्वारेन्टिनबाट शुक्रबार मध्यरातमा भागेकी हुन्।
भारतको गुजरातबाट २३ दिनअघि आफन्तहरुसँगै आएर क्वारेन्टिनमा बसेकी ४० वर्षीय महिला रातिदेखि फरार रहेको वडाका अध्यक्ष ताराप्रसाद खनालले बताए।
क्वारेन्टिनमा बसेको १४ दिनमा गरेको परीक्षणमा आरडीटी पोजेटिभ आएको खनालले बताए।
नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको ९ दिनसम्म पनि रिपोर्ट नआएको बताइन्।
शौचालय जान्छु भनेर निस्किएकी महिला नफर्किएपछि प्रहरी, स्थानीय मिलेर रातभर खोजी गरेको खनालले जानकारी दिए।
चलाउनेले महिला अछामकै रामारोशन क्षेत्रमा भेटिएको अपुष्ट खबर आएको जानकारी दिइन्।