क्यान्सर रोगको उपचार गरेर भारतबाट फर्कने क्रममा कोरोनाको सङ्क्रमण देखिएको एक वृद्धले कोरोनालाई जित्न सफल भएका छन्।
उनीसँगै उनकी श्रीमतीले पनि कोरोनालाई जितेकी छन्। भरतपुर महानगरपालिका–६ केसरवागका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धाले कोरोनालाई जित्न सफल भएको जनाइएको छ ।
सङ्क्रमणमुक्त भएसँगै दुवै जना आज भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुने क्रममा सङ्क्रमण जितेका वृद्धले आत्मबल बलियो बनाएकै कारण कोरोना जित्न सफल भएको बताए। कोरोना जित्नका लागि मनोबल घटाउन नहुने भन्दै उनले क्यान्सर हुँदाहुँदै कोरोना सङ्क्रमण भए पनि आफूले जित्न सफल हुनुमा अस्पतालका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीहरुको हात रहेको बताए।
अस्पतालबाट घर पठाउने क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले अब १४ दिनसम्म घरमा नै बस्न र त्यस्तो समस्या भए अस्पतालमा सम्पर्क गर्न आग्रह गरे। गत जेठ ३ गते भारतबाट आएका वृद्ध दम्पती र उनीहरुको छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
भारतमा क्यान्सरको उपचार गराएर आएका वृद्ध र उनीसँगै गएका श्रीमती र छोराको गत जेठ ८ गते स्वाब सङ्कलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
गत जेठ ९ गते भरतपुर अस्पतालले दुई जना (श्रीमान्, श्रीमती) मा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। सो क्रममा छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो । छोराको रिपोर्ट नेगेटिभ आए पनि शङ्कास्पद देखिएपछि पुनः परीक्षण गर्दा सङ्क्रमण भएको पुष्टि भएको थियो ।
रासस