काठमाडौं- वागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २८१ पुगेको छ। सामाजिक विकास मन्त्रालयले शुक्रबार साँझ उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी धादिङमा ९४ जना संक्रमित छन्।
यस्तै काठमाडौं र चितवनमा ४०/४०, सिन्धुपाल्चोकमा २७, रामेछापमा २२ र नुवाकोटमा १५ जना संक्रमित देखिएका छन्।
मकवानपुरमा १४, भक्तपुरमा ९, काभ्रेमा ६, ललितपुरमा ५, सिन्धुलीमा ७ र दोलखामा २ जनामा संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तराज सेढाईंले बताए।
प्रदेशमा ५० जना उपचारपछि घर फर्किएका छन् भने २३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
रसुवामा भने अहिलेसम्म कोरोना भाइरस संक्रमित नदेखिएको मन्त्रालयको विवरणमा उल्लेख छ । हेटौंडास्थित प्रदेश प्रयोगशालामा शुक्रबारसम्म कोरोना भाइरस परीक्षणका लागि ५३२८ नमुना प्राप्त भएको जनाइएको छ।
प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट चार जनाको मृत्यु भएको छ।