काभ्रेको बनेपास्थित एक हार्डवेयर पसलबाट ९ लाख रुपैयाँ चोरी गरेर मागेका एक युवकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरकोे छ।
लकडाउनको बेला बनेपा नगरपालिका ७ मा रहेको तेन्डेल हार्डवेयर प्रालिको काउन्टरबाट ९ लाख चोरी गर्ने चितवन रत्ननगर नगरपालिका वडा १ का २७ वर्षीय प्रकाशजंग कुवँरलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो।
जेठ २८ गते राति ८ बजे हार्डवेयरको काउन्टरबाट ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेका कुँवरलाई उनले लगाएको टिसर्टका आधारमा पक्राउ गर्न सफल भएको इलका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।
तिमल्सिनाका अनुसार कुँवर केही दिनअघि साडुदाइ ट्रक चालक गोविन्द चौधरीसँग हार्डवेयर पसलमा आएको सिसि क्यामेराको फुटेजमा देखिएको थियो । चोरी हुँदा कुँवरले लगाएको टिसर्ट र त्यसअघि पसलमा आएको बेला लगाएको टिसर्ट एउटै भएकाले सीसीटिभी फुटेजका आधारमा चोरी गर्ने व्यक्ति पक्राउ गर्न सफल भएको तिमल्सिनाले बताए।
कुँवरलाई नवलपरासी सुनवल नगरपालिका १ डाँडाटोल स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा प्रहरीले फाउ गरेको हो।
प्रहरीले कुँवरको साथबाट नगद १ लाख ५० हजार, घटनामा संलग्न हुँदा पोशाक, जुत्ता, मोबाइल र वाईफाई राउटर बरामद गरेको छ।
कुँवरले चोरेको रकम मध्ये केही आफन्तको किनमेलमा र मोबाइल खरिदमा खर्च गरेको तथा अन्य रकम बाँडेको बताएका छन्।
उनी पटक पटक चोरी मुद्दामा पक्राउ परी जेल पर्दै छुट्दै गरेका छन्। तिमल्सिनाका अनुसार तीन वर्ष अघि उनी मोवाईल चोरीमा काठमाडौबाट पक्राउ परेका थिए भने ५ महिना अघि मात्रै चोरी अभियोगबाट जेलबाट छुटेका थिए ।
केहि दिन अघि हार्डवेयरमा आएर सबै अध्ययन गरे पछि लकडाउनको मौका छोपी उनले हार्डवेयरको काउन्टरमा रहेको पैसा चोरी गरेका थिए।