जनकपुरधाम- प्रदेश २ मा हरेक दिन कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। रोजगारीका लागि भारतमा रहेका नेपालीहरु ठूलो संख्यामा भित्रिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
बुधबारमात्रै प्रदेश २ मा ३४१ जना नयाँ कोरोना संक्रमित फेला परे। महोत्तरीमा मात्रै बुधबार २०० जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म २८२ जनामा संक्रमण पुष्टि भएपछि महोत्तरीको सम्सी गाउँपालिकालाई सिल नै गरिएको छ।
यद्यपि संक्रमण पुष्टि भएका सबैजना आ–आफ्नो स्थानीय तहका क्वारेन्टिनमा छन्। तर समुदायमा संक्रमण भने फैलिइसकेको छैन।
३४१ जना थप भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ७१५ पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार संक्रमण पुष्टि भइसकेका व्यक्तिलाई तत्काल आइसोलेसनमा भर्ना गर्नुपर्ने हुन्छ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि प्रदेशभित्र आइसोलेसन बेडको अभाव भएको छ। आइसोलेसन अभावमा संक्रमितहरुलाई क्वारेन्टिनभित्रै राख्न थालिएपछि क्वारेन्टिनमा रहेका अरु व्यक्तिहरु पनि संक्रमणको जोखिममा परेका छन्।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेशका आठवटै जिल्लामा कुल १ हजार ४३४ आइसोलेसन बेड छन्। बुधबार अपरान्हसम्म संक्रमितको संख्या २ हजार ७१५ पुगिसकेको छ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका घर भएका गुड्डु सिंहका अनुसार पोजिटिभ रिपोर्ट आइसके पनि ८ जनालाई अझै क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिन संयोजकदेखि सरोकावाला निकायलाई यसबारे पटकपटक जानकारी गराए पनि उनीहरुलाई आइसोलेसनमा सारिएको छैन।
प्रदेशका अन्य जिल्लाहरुमा समेत यस्तै समस्या छ। खासगरी संक्रमितको संख्या बढ्दै गएको रौतहट र सर्लाही जिल्लामा पनि आइसोलेसन बेडको अभाव छ।
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार धनुषामा २११ जनामा संक्रमण पुष्टि भएको छ। तर, त्यहाँ आइसोलेसन बेडको संख्या जम्मा १२७ छ भने आइसोलेसनमा अहिले ६१ जनामात्र छन्।
यसैगरी ५०७ जनामा संक्रमण पुष्टि भएको महोत्तरीमा आइसोलेसन बेडको संख्या १५६ मात्र रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ ९९ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ।
सर्लाहीमा पनि संक्रमितको संख्याअनुसार आइसोलेसन बेडको अभाव छ। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ५३३ जनामा संक्रमण पुष्टि भएको सर्लाहीमा आइसोलेसन बेडको संख्या २८५ मात्रै छ।
प्रदेश २ को रौतहटमा सबैभन्दा बढी कहालीलाग्दो अवस्था देखिएको छ। सबैभन्दा बढी संक्रमण देखिएको रौतहटमा आइसोलेसन बेड पर्याप्त संख्यामा अझै तयार हुनसकेको छैन। रौतहटमा १ हजार ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। तर, त्यहाँ आइसोलेसन बेडको संख्या ३२९ मात्र छ।
यस्तै सप्तरीमा १९२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ आइसोलेसन बेडको संख्या १७८ मात्रै रहेको मन्त्रालयले जनाएको छ। यसैगरी १०० जना संक्रमण पुष्टि भएको बारामा १३१ र १५३ जनामा संक्रमण देखिएको पर्सामा १३३ आइसोलेसन बेड छन्। ती जिल्लामा पनि संक्रमितको संख्या बढ्नसक्ने अनुमान छ।
कोरोनाकै लागि दुई अर्ब बजेट छुट्याएको प्रदेश सरकारले ‘लकडाउन’ तेस्रो महिनामा पुग्न लाग्दासमेत आइसोलेसन र क्वारेन्टिनहरुको उचित व्यवस्था गर्न सकेको छैन। भारतबाट आउनेहरुको संख्याको पूर्वआंकलनका साथै आवश्यक तयारी नहुँदा अहिले यस्तो समस्या देखिएको हो।
सामाजिक विकास मन्त्रालयका एकजना अधिकारीले आइसोलेसन बेडको अभाव भएपछि संक्रमण पुष्टि भएकाहरुलाई क्वारेन्टिनमै राख्नुपर्ने अवस्था सिर्जना भएको बताए।
‘प्रदेशका अधिकांश जिल्लाहरुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ, संक्रमण पुष्टि भइसकेकालाई आइसोलेसनमा राख्नुपर्ने हो,’ ती अधिकारीले भने, ‘पूर्व तयारी गर्न नसक्दा अहिलेको अवस्था निम्तिएको हो।’
बुधबार अपरान्हसम्मको तथ्यांकअनुसार प्रदेश २ मा स्वाब संकलन भएकामध्ये १० हजार १६४ जनाको नतिजा आउन बाँकी छ।