सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको नयाँ सुरक्षा कार्ययोजना

अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको नयाँ सुरक्षा कार्ययोजना

लकडाउन खुकुलो भएपछि समाजमा बढ्न सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल प्रहरीले नयाँ सुरक्षा कार्ययोजना तयार पारेको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

लकडाउन खुकुलो भएपछि समाजमा बढ्न सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल प्रहरीले नयाँ सुरक्षा कार्ययोजना तयार पारेको छ।

पछिल्लो करिब तीन महिनाको अवधिमा लकडाउन कार्यान्वयनमा बढी केन्द्रित बनेको नेपाल प्रहरीले ‘लकडाउन खुकुलो पश्चात् हुने अपराध नियन्त्रण तथा न्यूनिकरण कार्य योजना २०७७’ तयार पारेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल नेतृत्वको ‘कोभिड १९ केन्द्रीय हेल्थ डेस्क’ ले तयार पारेको कार्य योजना अनुसार वस्तुपरक तथा सिर्जनशिल तवरले आ–आफ्नो सुरक्षा योजना तयार गरी कार्यान्वयन गर्न मातहतका इकाईहरुलाई निर्देशन दिइएको छ।

लकडाउन खुकुलो पश्चात हुन सक्ने सम्भावित १८ वटा अपराध तथा घटना नियन्त्रण तथा न्यूनीकरण गर्ने उक्त कार्ययोजनामा घरभित्र हुने हिंसादेखि प्रतिवन्धित विप्लव समूहका गतिविधि नियन्त्रणसम्मका योजना समेटिएका छन्।

सम्भावित चोरी डकैती, हत्या हिंसा, घरेलु हिंसा, आर्थिक अपराध, सवारी दुर्घटना, मानव बेचविखन, लागुऔषध कारोवार, कालोबजारी तथा मिसावट, राजनीतिक गतिविधिहरु बढ्न सक्ने प्रहरीले आँकलन गरेको छ।

यस्तै कोभिड १९ महामारीको बेला अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणका घटना बढ्न सक्ने तथा राष्ट्रिय गौरवका आयोजनाहरु अवरुद्ध गर्न सक्ने अनुमान गर्दै आवश्यक सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिइएको छ।

प्रतिवन्धित विप्लव समूह तथा अन्य सशस्त्र समूहका दैनिक गतिविधिबारे सुक्ष्म अवलोकन गर्दै नेताहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्ने, चन्दा आतंक रोक्न विशेष टोली परिचालन गर्ने उल्लेख छ।

लकडाउन खुकुलो भएपछि भिडभाड ठाउँमा चोरी डकैतीका घटना हुन सक्ने भएकाले त्यस्ता ठाउँहरुमा सादा पोषाकमा प्रहरी परिचालन गर्ने, रातको समयमा हिँड्ने व्यक्तिहरुको कडाइका साथ चेकजाँच गर्ने उल्लेख छ।

एआईजी पालले महामारीको कारणले बन्द रहेको समाज खुल्दा समाजमा नविनतम् अपराधिक क्रियाकलापको स्वरुप र बिम्ब पनि परिवर्तन हुन सक्ने बताए। अपराधिक गतिविधि पनि बढ्ने भएकाले कानुनी कारवाही गर्दा हुन जाने चुनौतीलाई सामना गर्न कार्य योजना तयार पारिएको उनले जानकारी दिए।

लामो समयको लकडाउनले नागरिकमा नैराश्यता बढ्ने तथा बेरोजगारीले भोकमरीको अवस्था सृजना हुने भएकाले उच्च सतर्कताकासाथ लकडाउन खुकुलो बनाउँदै जानुपर्ने निष्कर्ष पनि प्रहरीको छ।

 

प्रकाशित: Jun 18, 2020| 14:01 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।