काठमाडौं- सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतबाट कब्जा गरिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी व्यावहारिक रुपमा फिर्ता ल्याउने विन्दुसम्म पुग्ने राष्ट्रिय संकल्पलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको बिहीबारकाे बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रवक्ता श्रेष्ठले भने, 'भारतबाट कब्जा गरिएको र अतिक्रमित भूमि हरहालतमा व्यावहारिक रुपमा फिर्ता ल्याउने विन्दुसम्म पुग्ने राष्ट्रि संकल्प अभिव्यक्त भएको छ। हाम्रो यो राष्ट्रिय संकल्पलाई एकताबद्ध बनाउनुपर्छ।'
उनले सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा देश अहिले एक ढिक्का भएको बताए। उनले भने, 'यसले हामी सबैलाई उत्साहित बनाएको छ। अब हामी नक्सा प्रकाशित मात्र सीमित छैनौं। नयाँ नक्साअनुसार संविधान संशोधनमा मात्र सीमित हुने छैनौं।'
उनले यी भूमि भारतले कब्जा गरेको हो र हामीले प्राप्त गरिछाड्नुपर्छ, त्यसअनुसार अहिले चालेका कदम ठिक छन् भन्नेमा हामी एक ढिक्का हुन सबै दलका नेता, इतिहासविद्, बुद्धिजीवी र सांसदहरुलाई आग्रह गरे।
प्रवक्ता श्रेष्ठले भने, 'हिजो कहाँ कसको कमजोरी भयो भन्नेबारे वा राष्ट्रियतका अरु विषयमा कति कमजोरी भए भन्ने भिन्नै सन्दर्भमा बहस चर्चा गर्नु एउटा कुरा होला। तर यो मुख्य मुद्दालाई ओझेलमा पारेर अन्य विषयमा आरोपप्रत्यारोपमा लाग्नु हुँदैन। अतिक्रमित भूमि फिर्ता ल्याउन अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन भएको छ। त्यसलाई सुदृढ बनाउनुपर्छ।'