काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। शनिबार कोरोना पुष्टि भएका कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हाे। उनकाे स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा उपचार गरिएकाे थियो।
उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि एयर एम्बुलेन्स नपाइएको पारिवारिक स्रोतले जनायाे। यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।
यस्तै नेपालगन्ज मेडिकल कलेजमा मंगलबार कैलालीकै एक महिलाको मृत्यु भएको थियो। त्यसअघि काेराेना संक्रमणबाट कैलालीमै अर्की महिलाको मृत्यु भएको थियो। योसहित कोरोना संक्रमणबाट कैलालीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी ४३ वर्षीया महिला कैलाली लम्की चुहा नगरपालिका २ की हुन्। बुधबार स्वाब परीक्षण गर्दा उनकाे कोरोना पुष्टि भएको हो।
उनी टाउकामा चोट लागेपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि गएकी थिइन्। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनौडियाले पुष्टि गरे। शव मेडिकल कलेजमै राखिएको छ। सेनाले शवको अन्त्यष्टि गर्ने बताइएकाे छ।
रिफर बिरामीको कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
यसअघि डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो। उनको दुई साताअघि प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा मृत्यु भएको थियो। ती महिलाको धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएपछि रिपोर्ट पोजेटिभ आएको थियो।
यस्तै केही दिनपहिला बाजुराकी एक बालिकाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे छ। यसरी सुदूरपश्चिममा मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ।