जनकपुरधाम- महोत्तरीको सम्सी गाउँपालिका 'सिल' गरिएको छ। गाउँपालिकाका क्वारेन्टिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्सी गाउँपालिकालाई ७२ घण्टाका लागि 'सिल' गरेको हो।
सम्सी गाउँपालिकास्थित विभिन्न क्वारेन्टिनमा रहेका १७६ जनामा बुधबार संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकालाई ७२ घण्टासम्म 'सिल' गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सूचना अधिकारी कामेश्वर यादवले बताए।
'गाउँपालिकाअन्तर्गतका क्वारेन्टिनहरुमा संक्रमितको संख्या २८२ पुगेकाले गाउँपालिकाको सम्पूर्ण क्षेत्र आज राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्म पूर्ण रुपले 'सिल' गरिएको छ', जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार साँझ जारी गरेको सूचनामा भनिएको छ।
यसअवधिमा अत्यावश्यक औषधि पसल, एम्बुलेन्स, मृत्यु संसकारबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ। महोत्तरीमा बुधबार २०० जनामा संक्रमण पुष्टि भएको छ।