सुर्खेत- क्वारेन्टिनबाट घर फर्किएपछि सुर्खेतकी एक महिलाले आत्महत्या गरेकी छिन्। सिम्ता गाउँपालिका–८ की २५ वर्षीया महिलाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतबाट गत जेठ १२ गते पति र छोरीसहित फर्किएकी उनी १४ दिन क्वारेन्टिनमा बसेकी थिइन्। उनी घर नजिकैको जंगलमा असार १ गते झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार क्वारेन्टिनबाट ती महिलाको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ घर पठाइएको थियो। मृत्युपछि कोरोना संक्रमण पुष्टि हुने उनी कर्णाली प्रदेशका चौथो व्यक्ति हुन्।