चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ।
साउनदेखि वैशाख मसान्तसम्ममा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । तर, चैतको महिनाको तुलनामा भने रेमिट्यान्स आप्रवाह केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार गत चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने वैशाखमा ५४ अर्ब रुपैयाँ भित्रिएको छ। फागुनमा ७९ अर्ब २१ करोड र माघमा ६६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
गत डिसेम्बर अन्तिम साता चीनमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण मार्चसम्म आइपुग्दा विश्वभर फैलिएको थियो। मार्च पहिलो सातादेखि विश्वभर लकडाउन सुरु भएपछि धेरै नेपालीले रोजगारी गुमाएका थिए। जसका कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हो।
त्यस्तै, वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो।