सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकर श्रेष्ठविरुद्ध साढे दुई अर्ब गैरकानुनी आर्जनको मुद्दा

बैंकर श्रेष्ठविरुद्ध साढे दुई अर्ब गैरकानुनी आर्जनको मुद्दा

बैंकिङ कसुर गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– बैंकिङ कसुर गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ।

श्रेष्ठविरुद्ध दुई अर्ब ६६ करोड ६१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोगमा विभागले मुद्दा दयार गरेको हो।

निवेदनमा दुई अर्ब ६६ करोड ६१ लाख रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना माग दाबी गरिएको विशेष अदालत स्रोतले जनाएको छ।

श्रेष्ठले आफू अध्यक्ष रहेको फाइनान्स कम्पनीबाट काल्पनिक ऋणी खडा गरेर आफैं रकम लिने गरेको विभागको आरोप छ।

श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाजीपूर्वक मिनाहा गरेको पनि आरोप लागेको छ।

उनले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ। विभागका अनुसार श्रेष्ठले एउटै बैंकबाट ८३ करोड रुपैयाँसम्म ऋण लिएर आफ्नो परिवारको नाममा राख्ने गरेको खुलेको छ।

साथै श्रेष्ठ अध्यक्ष रहेको फाइनान्समा करिब दुई अर्ब घोटाला भएको यसअघि भएको अनुसन्धानले पनि देखाएको थियो।

सो फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण  श्रेष्ठले दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो।

घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले २०७१ असार १२ गते उनलाई ३५ लाख धरौटीमा छाडेको थियो।

प्रकाशित: Jun 16, 2020| 18:10 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्