पछिल्लो २४ घन्टामा चीनमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ, जसमा ३६ जना राजधानी बेइजिङका छन्।
बेइजिङमा लगातार दोस्रो दिन संक्रमणमा रेकर्ड कायम भएको हो। एक दिनअघि त्यहाँ यति नै संख्यामा संक्रमण देखिएको खबर आएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा थप एक थोक बजारमा संक्रमित देखिएका छन्। त्यसपछि बजार र आसपासका १० क्षेत्रमा लकडाउन गरिएको छ।
यसअघि अघिल्लो साता बेइजिङमा नयाँ संक्रमणको सूत्र खाने सामानको ठूलो थोक बजारसँग जोडिएको पाइएको थियो।
सिनफाडी नामको उक्त बजार बन्द गरिएको छ। साथै आसपासका हजारौं मानिसको टेस्ट गरिएको छ। यससँगै बजार गएका वा बजारका मानिससँग सम्पर्क भएका व्यक्तिको पहिचान गरिएको छ।
कोरोना संक्रमणको महामारी चीनबाट सुरु भएको थियो। तर, यसलाई लगभग नियन्त्रण गरिएको थियो।
अधिकारीका अनुसार हुवेई प्रान्तमा पनि तीन जनामा संक्रमण देखिएको छ।
बिबिसी