काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएर प्रतिदिन २० लाखसम्म पुर्याएको छ। मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख र इन्टरनेट बैकिङमार्फत् हुने भुक्तानी प्रतिदिन २० लाख रुपैयाँ कायम गरिएको हो।
यसअघि मोबाइल बैंकिङमार्फत् हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङमार्फत् हुने कारोबारको सीमा १० लाख थियो।
त्यस्तै राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो। वालेटबाट बैंक खातामा पैसा पठाउदासमेत सोही सीमा लागू हुने नेपाल राष्ट्र बैंकले जनाएको छ।
वालेटमार्फत् अर्को वालेटमा पैसा पठाउँदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो सो सिमा भने राष्ट्र बैंकले परिवर्तन गरेको छैन। प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत् विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिन पाउने अधिकतम शुल्क समेत केन्द्रीय बैंकले तोकेको छ। यसमा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दामाथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ।
विद्युतीय कारोबारमा लिइने सेवा शुल्कसम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रूपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रष्ट देखिने गरी सार्वजनिक गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।