काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफूलाई प्रलोभन देखाएर फकाउने दुस्साहस भइरहेको जिकिर गरेका छन्। आन्तरिक राजश्व विभागले आयोजना गरेको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आफूले व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने काम नगर्ने दाबी गरेका हुन्।
‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन्। म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन। त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु। स्वदेशी उत्पादनमा आधारित र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन,’ उनले भने।
प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्था परिवर्तन नहुने मन्त्री शर्माको अडान छ। दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने पनि बताएका हुन्।
आयातमा आधारित राजश्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजश्व बढाउन उनले जोड दिए। उनले कर पुनरवालोकन आयोग गठन गरी दरसम्बन्धी थप सुधारका काम गरिने उल्लेख गरे।
यसअघि आफूले आन्तरिक राजश्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेको भन्दै उनले भने, ‘यो मैले जानी जानी भनेको हो, भाषण गर्नलाई भनेको हैन। मैले योजना माग गरेको हुँ, त्यो योजना अहिलेसम्म पनि आएन।’ मुलुकको आन्तरिक राजश्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै मन्त्री शर्माले त्यसको योजना पेस गर्न पुनः ताकेता गरे।
विभागमा योग्य कर्मचारीको टिम रहेको उल्लेख गर्दै उनले राजनैतिक नेतृत्व परिवर्तनका क्रममा कर्मचारीको इच्छाभन्दा बाहिर रहेकोले जो नेतृत्वमा आएपनि आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न निर्देशन दिए।
कर प्रशासनलाई सरल बनाउनुपर्ने बताएका शर्माले तीन महिनाभित्र करदाताले अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन निर्देशन समेत दिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करदाताले भ्याट बिल जारी गर्नासाथ सिधै आन्तरिक राजश्व विभागको प्रणालीमा विवरण दाखिला हुने गरी प्रविधिमा सुधार गर्न निर्देशन दिए। करको दायरा विस्तारमा स्थायी लेखा नम्बर वितरणले महत्वपूर्ण भूमिका खेल्ने भएपनि तिनको ट्रेसिङ र ट्रयाकिङ हुन नसके ‘नन फाइलर’ को संख्या बढ्ने र अनावश्यक प्रशासनिक दायित्व मात्र थपिने उल्लेख गर्दै सचिव मरासिनीले ‘प्यान होल्डर’को ट्रयाकिङ प्रणाली चुस्त बनाउनुपर्ने धारणा राखे।
राजश्व सचिव कृष्णहरि पुस्करले परम्परागत कर प्रशासनलाई सुधार गरी ‘ट्याक्सोलोजिस्ट’ को आधुनिक सिद्धान्तमा आधारित कर प्रसाशन बनाउनुपर्ने बताए।
कर तिर्न दोस्रो व्यक्तिको सहायता लिनुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने झन्झटिलो अवस्था रहेको स्वीकार गर्दै सचिव पुष्करले यसमा सुधार ल्याई करदातामैत्री प्रशासन संचालनमा जोड दिएका थिए।
यसैगरी आन्तरिक राजश्व विभागका प्रमुख शोभाकान्त पौडेलले अनौपचारिक क्षेत्रमा रहेको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने, नक्कली बिलबिजक, न्यून बिजकीकरण, विद्युतीय अर्थतन्त्रले ल्याएका चुनौती, अन्तशुल्कमा स्टिकर व्यवस्थापन, नक्कली स्टिकर, कर परिपालना स्तर वृद्धि गर्नुपर्ने, कर परीक्षण र अनुसन्धानलाई नतिजामूलक बनाउनेलगायत चुनौति रहेको बताए।