काठमाडौं- भारतको मध्य प्रदेशस्थित रतलाममा बिरामीहरुलाई झारफुक गर्ने तथा हात चुमेर उपचार गर्ने एक बाबाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
रतलामको नयापुराका ती व्यक्तिले जुनसुकै रोग लागेका व्यक्तिलाई पनि आफूले झारफुक गरेर वा तन्त्रमन्त्र गरेर निको पार्ने दाबी गर्दै आएका थिए।
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि भारतभर लकडाउन हुँदासमेत उनले झारफुकको काम बन्द गरेका थिएनन्।
उनको गत जुन ४ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो।
बाबाको मृत्यु भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरिएको थियो।
उनको सम्पर्कमा आएकामध्ये २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अरु व्यक्ति पनि सम्पर्कमा आएको हुन सक्ने सम्भावनाका आधारमा खोजी भइरहेको जनाइएको छ।
बाबा बस्ने गरेको नयापुरा क्षेत्र अहिले कोरोनाको हटस्पट बनेको छ।
बाबाकै कारण त्यस क्षेत्रमा कोरोना फैलिएपछि त्यसआसपमा झारफुक गर्ने अन्य व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न सुरु गरेको छ।