लामो समयको कसरत र दबाबपछि ‘टोकियो ओलम्पिक २०२०’ एक वर्षका लागि स्थगित भयो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारले संयुक्त रुपमा प्रतियोगिता एक वर्ष पछि सारेको जानकारी गराएका छन्।
त्यससँगै युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले यसै वर्षको समरमा हुने ‘युरो कप २०२०’ नाम परिवर्तन नगरिकनै एक वर्ष पछि धकेल्यो। महिला युरो कप त २०२२ मै पुग्यो।
फुटबलमा मात्र होइन, टेनिसमा पनि ठूला परिवर्तन भइरहेका छन्। फ्रान्समा आयोजना हुने विम्बल्डन प्रतियोगिता त रद्द नै भयो। सन् १९४५ पछि यो प्रतियोगिता पहिलो पटक रद्द भएको हो।
यसलगायत सयौं खेल सरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी)ले गर्ने धेरै प्रतियोगिता स्थगित भएका समाचारहरु दिनैजसो मिडियामा छाएका छन्।
यसै विषयमा अहिले क्रिकेटको सम्बन्धमा नयाँ चासो बढेको देखिन्छ। धेरै प्रतियोगिताको एकपटकको मिति परिवर्तन गरेर नयाँ मिति घोषणा गरिएको छ। ‘तर अर्को मितिमा प्रतियोगिता हुन सक्ने हो वा हाइन भन्ने कुराले धेरै आयोजकको टाउको दुखाएको छ।
ओलम्पिक कमिटीका अध्यक्ष थोमर ब्याचले भनिदिए, ‘फेरि स्थगन गर्नुपर्ने अवस्था आयो भने टोकियो ओलम्पिकै रद्द हुन्छ।’ केही समयअघिसम्म सबैतिर चासो प्रतियोगिता स्थगन र रद्दकै थियो। तर अहिले समय बदलिँदै छ। प्रतियोगिता फेरि मैदान फर्कने कसरतमा लागेका छन्।
फुटबलका बुन्डेसलिगा, के लिग मैदान फर्किसकेका छन्। यस्तैमा हिजो मात्र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली तीन टेस्ट सिरिज खेल्नका लागि इंग्ल्यान्डको ओल्ड ट्राफोर्ड पुगिसकेको छ। तर अष्ट्रेलियामा यही वर्षका अन्तिममा हुने–नहुने टी–२० प्रतियोगिता बारे आईसीसीले अझै औपचारिक निर्णय गर्न सकेको छैन।
आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा विश्वकप क्रिकेटको आयोजना तय गरिएको छ। पछिल्लो समयमा आईसीसीका धेरै बैठकमा विश्वकपबारे निर्णय लिइने चर्चा चलेको भएपनि निर्णय हुन सकेको छैन।
आज निर्णय हुनसक्ने
हिजो(मंगलबार) बसेको आईसीसीको बैठकले अब सुरु हुने क्रिकेट खेलमा बल चम्काउन थुकको प्रयोग निषेध गरेको छ। उसले यसका साथै लोकल अम्पायरको व्यवस्था, खेलाडी परिवर्तन गर्न पाइने, न्युट्रल अम्पायर नराखे पनि हुने लगायतका व्यवस्था गरको छ।
आईसीसीको आज (बुधबार) पनि भर्चुअल मिटिङ बस्दै छ। आजको बैठकले सम्भवतः विश्वकपबारे निर्णय गर्ने बताइएको छ। तर पछिल्ला केही बैठकमा विश्वकपबारे निर्णय हुन सकिरहेको छैन।
यसअघिका सबै प्रतियोगिता रद्द भएका कारण त्यसलाई सञ्चालन गर्ने कि नयाँ आयोजना गर्ने भन्नेबारे अन्योल पैदा भएका कारण विश्वकप अचानोमा परेको हो।
विश्वकप नभए त्यो समयमा आईपीएल गर्न दबाव
वेस्ट इन्डिजका पूर्व तिब्र गतिका बलर र कमेन्टेटर माइकल होल्डिङले यो वर्षको टी–२० स्थगित गरेर आईपीएल गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘यदि विश्वकप नहुने हो भने त्यो समयमा बीसीसीआईलाई आईपीएल गर्न पूरा अधिकार छ।’
उनले आईसीसीले विश्वकपको म्याद ढिलो गरेर आईपीएल गर्न समय बनाइदिएको आरोप नलगाउन पनि अनुरोध गरेका छन्। ‘अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय आवागमन बन्द गरेको छ। अन्य धेरै देशमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहेका छन्,’ उनले भने।
उनी मात्र होइन कतिपय इन्डियन खेलाडी, मिडिया र अधिकारीले पनि आउँदो अक्टोबरमा आईपीएल गराउन पहल गर्नुपर्ने बताउँदै आएका छन्।
होल्डिङले टी–२० विश्वकपको कारण आउँदो २०२३ मा हुने एक दिवसीय विश्वकपमा फरक नपर्ने बताएका छन्।
‘मलाई लाग्दैन कि आईसीसीलाई ५० ओभरको खेलमा केही फरक पर्ला। किनभने यो फर्मेटको खेलमा टिभी राइटबाट ठूलो रकम कमाइ हुन्छ,’ होल्डिङले भने ।