काठमाडौं- सरकारले विगत सात वर्षमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।
सबैभन्दा बढी आर्थिक सहायता गत आर्थिक वर्षमा ५० करोड २ लाख रुपैयाँ उपलब्ध गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म ३७ करोड ३८ लाख रुपैयाँ वितरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।
यस्तै आर्थिक वर्ष ७०/७१ मा १२ करोड ६ लाख, ७१/७२ मा २१ करोड ७४ लाख, ७२/७३ मा २२ करोड १७ लाख, ७३/७४ मा २२ करोड ६३ लाख, ७४/७५ मा ४५ करोड ६५ लाख, ७५/७६ मा ५० करोड २ लाख र चालु आवको फागुनसम्म ३७ करोड ३८ लाख आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ।
आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक सहायता रकम प्रतिव्यक्ति ३ लाखबाट बढाएर ७ लाख रुपैयाँ पुर्याइएकाे हो।
सात वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ५ हजार ६२७ जनाले ज्यान गुमाएका छन्। बोर्डका अनुसार तीमध्ये ५ हजार ४९६ पुरुष र १३१ महिला छन्।
आर्थिक वर्ष ७०/७१ मा वैदेशिक रोजगारीमा गएका ८५३ पुरुष र २४ महिलाको निधन भएको थियो। यस्तै ७१/७२ मा १ हजार पुरुष र ६ महिला, ७२/७३ मा ७९२ पुरुष र २४ महिलाको निधन भएको छ।
आर्थिक वर्ष ७३/७४ मा ७३८ पुरुष र १८ महिला, ७४/७५ मा ८०१ पुरुष र २० महिला, ७५/७६ मा ७३१ पुरुष र २३ महिला तथा चालु आवको फागुनसम्म ५८१ पुरुष र १६ महिलाको ज्यान गएको बोर्डको तथ्यांक छ।