काठमाडौं– लकडाउनयता बैंकहरूको कर्जा विस्तार निरन्तर ओरालो लागेको छ। कर्जाको माग नहुँदा बैंकिङ क्षेत्र अधिक तरल अवस्थामा पुगेको हो।
निक्षेप मात्रै बढेको कारण सीसीडी रेसियो (कर्जा निक्षेप अनुपात) घटेर औसत ७४ प्रतिशतमा आएको छ। राष्ट्र बैंकको प्रावधान अनुसार यो अनुपात ८० प्रतिशतभन्दा तल हुनुपर्छ।
चैतदेखि बैंकहरुको कुल कर्जा २२ अर्ब रुपैयाँले घटेर २८ खर्ब २४ अर्ब रूपैयाँमा सीमित भएको छ।
सोही समयमा निक्षेप ५७ अर्ब रूपैयाँले बढेको छ। अहिले बैंकहरूको कुल निक्षेप ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा विदेशी मुद्रामा रहेको निक्षेप भने १० अर्बले घटेको छ। यसअघि एक खर्ब ३७ अर्ब रुपैयाँ रहेको निक्षेप अहिले एक खर्ब २७ अर्ब मात्रै छ।