थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गरेका छन्।
आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत् सोमबार दिएको निर्देशनमा उनले कोभिड–१९ को महामारीपछि विदेशमा जानेगरी आफूलाई तयारी अवस्थामा राख्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गरेका छन्। नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पार्दै भने, “कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो सङ्ख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्नेगरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।”
प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भने, “थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।”
कोभिड–१९ को लडाईमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ ।
थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्नेगरी माग हुने सङ्केत गरेको बताइएको छ ।
थाई सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताए।